Rule 20
सम्बन्धित निकाय आफैले सरसफाई सम्बन्धी काम गर्न सक्ने
(१) कुनै व्यक्ति, संस्था वा उद्योगले ऐन वा यस नियमावलीमा तोकिएको शर्त वा मापदण्ड विपरीत फोहरमैला निष्काशन नगर्ने सूचना गर्दा पनि फोहरमैला निष्काशन गरेको कारणले सर्वधारणमा प्रतिकूल असर पर्न गएमा सम्बन्धित निकायले आफ्नै खर्चमा त्यस्तो फोहरमैला हटाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम सम्बन्धित निकायले कुनै ठाउँबाट फोहरमैला हटाउँदा लागेको खर्च र सो काम गरे वापतको थप पच्चीस प्रतिशत रकम त्यस्तो फोहरमैला निष्काशन गर्ने व्यक्ति, संस्था वा उद्योगसँग प्रचलित कानुन बमोजिम सरकारी बाँकी सरह असूल उपर गर्नेछ ।